~ © मानन्धर अभागी ।
~~~~~~~~~~ गजल ~०१
भट्टीमा बसी सँगै पिउँदा गुरु बा नि यार भो
आज पनि बुढीसँग मेरो मारामार भो
आमा भन्न सुहाउने मात लागेपछि तरुनी
पिउने र पिलाउने साहुनीसँग प्यार भो
पिउँदिन भन्छु अब मनले मान्दै मान्दैन
सुन्दर मेरो महल आज कारागार भो
प्यालाभरी यो जिन्दगी सँधै तैरी रहेछ
पिउँदा पिउँदै एक्लियो जिन्दगीनै भार भो
खल्ती खाली भएपछि साहुनी पनि दुश्मन भो छाडीजाने श्रीमतीको आज यादगार भो
~~~~~~~~~~~ गजल ~०२
कस्तो विभत्स काटमार जय होस् गढीमाई
तिम्रो लीला अपरम्पार जय होस् गढीमाई
कस्तो निर्दयी रहेछ कोदालो समाउने हातमा
खञ्जर र तरवार जय होस् गढीमाई
मार हान्नेपनि थाकेन भगवान् पनि अघाएन
कस्तो हो यो अवतार जय होस् गढीमाई
लाशले पहाड भयो रगतले पोखरी बन्यो
यस्तै रहेछ संसार जय होस् गढीमाई
यस्तो निन्दनीय हत्या के प्रभु प्रशन्न हुन्छौ ?
गर्नु होला पुर्नविचार जय होस् गढीमाई ।
~~~~~~~~~~~ गजल ~०३
हिजो लेखेको संविधान किन अड् किएको छ
फेरि एउटा अर्को क्रान्ति जरुरी देखिएको छ
सहमति थुप्रै गरे वार्तालाप धेरै गरे हिजो
जति तातेपनि आजसम्म चिसिएको छ
बुबाले हिजो युद्धमा व्यर्थै वलिदान दिएछ
आमाको त्यो आँखामा अझै आँशु भरिएको छ
तिम्ले कुटे जस्तो गर्नु म दुखे जस्तो गर्नेछु
आँखामा छारो हाल्दैछ यस्तै यस्तै बुझिएको छ
मेरै घरको कोठामा डेरा गरी बस्ने नेता जस्को
आज दरवार छ हीरामोति जडिएको छ ।
~~~~~~~~~~ गजल ~०४
आज म एउटा यस्तो गजल लेख्दैछु
बजारमा सवैभन्दा सस्तो गजल लेख्दैछु
सवैलाई उत्सुकता होला कस्तो गजल होला
मलाई नि था छैन कस्तो गजल लेख्दैछु
ती युगल जोडीको आज पानी बाराबार भो रे
थुनिएको कुलो खोल्ने जस्तो गजल लेख्दैछु
प्रेममा यस्तै हुन्छ मित्र कहिले मिलन त विछोड
फाटो त्यो माया जोड्ने त्यस्तो गजल लेख्दैछु
आज म एउटा यस्तो गजल लेख्दैछु
बजारमा सवैभन्दा सस्तो गजल लेख्दैछु ।
~~~~~~~~~~ गजल ~०५
स्वतन्त्र छैन अझैपनि हुने गर्छ शिकार
किन हरण गर्दैछ त्यो मानव अधिकार
आमा रोइरहेछ यहाँ भित्रभित्रै दुखेर
निष्ठुर त्यो सन्तानले पु¥याएन विचार
विरामी भै थला परेको आज वर्षौं भैसक्यो
कहिल्यै निको नहुने कस्तो होला विमार
एउटै आमाका सन्तान हाम्रा दाजुभाइहरू
आफू आफैमा झगडा गर्दैछन् वारम्वार
नयाँ कीर्तीमान राखी जहाँ इतिहास बन्दैछ
कहीँ नभाको प्रजातन्त्र यो देशमा भ्रष्टाचार
यसरी तह लाउँदैछ ती भ्रष्टाचारीलाई
धन्यवादको पात्र बन्दैछ आज अख्तियार ।
~~~~~~~~~~ गजल ~०६
न्याउली रुँदाको पीडाले मैले निधो गरिसकें
मलाई नखोज है प्रिय डेरा सरिसकें
सँधैसँधैको प्रहारले कति खप्नु त्यो चोट
डेरा सरेको भोलिपल्टै तिम्रो निम्ति मरिसकें
भँवरा न हो तिमी त चुस्नु चुसेर छाडी गयौ
फूल भएर के गर्नु र ओइलिएर झरिसकें
चौकीमा के उजुरी दिनु ? दिनु केही अगावै
तिमीहरूकै त्यो दवावमा हस्ताक्षर गरिसकें
न्याउली रुँदाको पीडाले मैले निधो गरिसकें
मलाई नखोज है प्रिय डेरा सरिसकें ।
~~~~~~~~~~ गजल ०७
आँखाभरि सपना बोकी म राजधानी आएँ
सोचे भन्दा फरक भो आएर मैले पछुताएँ
कामको खोजी शहरमा भौतारिंदा भौतारिंदै
कोठामा के भात पकाइ भो धुँवा धुलो खाँदै अघाएँ
काम मैले नपाएपछि नर्कमा लान खोजियो
यहाँको विकृतिबाट रुँदै मैले आँशु बगाएँ
काठमाण्डु राजधानी एड्स लागी सक्या रै छ
भ्रष्टाचार र यौन व्यापार सरुवा रोग था पाएँ
सतीले सरापेको ठाउँमा वर्वादी हुनु भन्दा
गाउँफर्क अभियान अबको सोच बनाएँ ।
~~~~~~~~~~~ गजल ~ ०८
आज म फेरि उस्कै करकापमा परी सकेछु
नगर्नु पर्ने सहीछाप हिजै पो गरी सकेछु
गर्नै नहुने काम गरें आज आफै पछुताएँ
दुनिँयाको नजरबाट आज म झरी सकेछु
उ देशकै लागि मरे आफू पैसाकै लागि मरें
उसको तुलना गर्दा धेरै पछि सरी सकेछु
कयौंको जिन्दगी हरेर कति विधवी बनाएँ
मलाई त थाहै भएन आफ्नै आमा हरी सकेछु
मेरो देशलाई आज सञ्चो सुविधा भएन
आज त्यो पश्चात्तापले जलेर म मरी सकेछु ।
~~~~~~~~~~~~ गजल ~ ०९
म आज आफ्नै आमाको त्यो पहिचान खोज्दैछु
म कस्को उत्तराधिकारी त्यो निशान खोज्दैछु
अंश वण्डा गर्ने निहुँमा दाजुभाइ काटामार
घरको द्यौतानै हरायो त्यो भगवान खोज्दैछु
भाको हिजो मूर्ति बेचे आज दिदी वहिनी बेचे
दुष्ट दाजुहरू गाड्न त्यो चिहान खोज्दैछु
त्यो रात सहीछाप गरी विहानी अपहरण गर्यो
सूर्य उदाउन खातिर त्यो विहान खोज्दैछु
जसले मेरो आमालाई हिजो वलात्कार गर्यो
पाँच पाण्डव विरुद्ध त्यो वयान खोज्दैछु ।
~~~~~~~~~~~~ गजल ~ १०
मैले के गर्न सक्छु र ? भाग्य यस्तै रैछ तिनाउ
जति दुर्गन्धित भएपनि , के गर्छौ सान्त्वना दिलाउ
भगवान् बुद्धको देशमा जस्तै भएनि धर्म गर्छौ
मलमूत्र मिसेपनि पवित्र सम्झेर नुहाउ
गर पालिका हुनुपर्नेमा ‘नगर’ पालिका भएछ
स्वार्थीले यसो भन्दै गर्छ त्यो कर चाहीँ बुझाउ
स्रोत साधन छ भने दवाव दिनै पर्दछ
कदापी पछि हट्नु हुन्न सवैले कदम बढाउ
विकास गर्ने पालिका , श्रीमान् महोदय ज्यू
यदि अनपढ भए सिकाउ जोड घटाउ ।
~~~~~~~~~~~ गजल ~ ११
तिमीले देख्ने मैले देख्ने सपना फरक भएनी
मिलन सँधै रही रहोस् कल्पना फरक भएनी
जसरी सम्झे पनि मन सफा हुनुपर्छ
मान्छे आखिर उहीनै हो सम्झना फरक भएनी
भोजमा देखाउनै पर्ने नक्कली होस् वा सक्कली आखिर लगाउने नै हो गहना फरक भएनी
मालिस निकै जाती रै छ मामाको त्यो घरमा
दुखाइ त एउटै हो यातना फरक भएनी
छापामा फरक फरक आफ्नै तस्वीर देखें
व्यहोरा एउटै रै छ समवेदना फरक भएनी ।
~~~~~~~~~~ गजल १२
दृष्टि विहीन यो जिन्दगी संसार अँध्यारो छ
जातीय आफ्नो राज्य देशभन्दा प्यारो छ
भाइ फुटे गँवार लुटे नेताको यै चाहना
देश याँ निर्माणमा सँधैसँधै तगारो छ
न संविधानको धारो न त घरको धारो बन्छ
सदन भित्र वाहिर अचम्मको धारो छ
जुन जोगी आएपनि कानै चिरेको रहेछ
चिलिम तान्न थालेपछि यो देश बन्न गाह्रो छ
चुनेर त पठाइसक्यो अब फेरि कस्ले रोक्यो
संविधान बनाउन किन फेरि अप्ठ्यारो छ ।
~ © मानन्धर अभागी ।