कुरुक्षेत्र (लघुकथा)
Biju Subedi — Fri 13 March 2014

यहाँ कृष्णले कुरुक्षेत्र कुन ठाउँ रोज्ने भनेर अर्जुनलाई सुझाउनुभएको बारे केलाउने प्रयास गरिएको छ ।
एक समय एउटा गाउँमा कृष्णजीले अर्जुनलाई घुमाउन लानुभयो । त्यहाँ गाउँमा धेरैजसो व्यक्तिहरू किसानी पेशा गर्दथे । त्यसैले उनीहरूको दिनचर्या दिनभरि खेती–किसानी गर्ने, अनि थकाइ मार्न हातगोडा धुने, अनि खाना खाने, झमक्क साँझ परेपछि सुत्नलाई वासस्थानमा जाने हुन्थ्यो । यसरी दिनहुँ यस्ता क्रियाकलापहरू भएको अर्जुनलाई कृष्णजीले देखाए । ती वासिन्दाहरूमा अरु ठाउँका वासिन्दाहरूभन्दा भिन्नै प्रकारको संस्कार थियो । त्यहाँ कुनै पनि व्यक्ति मरेता पनि कसैले शोक गर्दैनथे । न त सुतक नै बार्दथे । उनीहरू खेती किसानी अथवा दैनिक मजदूरी गरिरहेको समयमा कोही वृद्ध अथवा रोगी व्यक्तिहरू मरेछन् भने लाशलाई त्यत्तिक्कै जनावरले घिसार्दै लैजाँदा पनि उनीहरू आफ्नो दैनिक मेहेनत मजदूरी गरिरहेका हुन्थे । लाग्दथ्यो ती कर्मविरहरूले मृत्युलाई पनि सहजतासँग लिएका थिए ।
कृष्णजीले बारम्बार अर्जुनलाई त्यस ठाउँमा घुमाउन लगेको बेला बारम्बार त्यस्ता असहज लाग्ने मर्दा पनि कुनै शोक व्यक्त नगरी आफ्नो नियमित कर्म गरिराखेको देखेर अर्जुनले कृष्णजीलाई सोधे :–“ कृष्णजी यहाँ किन अरु ठाउँभन्दा फरक संस्कार छ ? के यो यहाँको संस्कृति हो ? मलाई यस ठाउँमा डुलाउन ल्याउनुको के अर्थ राख्दछ ?” फेरि कृष्णजीले भन्नुभयो :–“यो ठाउँलाई कुरुक्षेत्र भनिन्छ । यहाँ पूर्खौंदेखि यही संस्कार चलिआएको छ । त्यसैले मैले इङ्गित गर्न खोजेको कुरो के हो भने ‘जसरी तिमीले मरो शरीरबाट मरेकाहरू कहाँ पुगिरहेका छन् देखिसकेकाका छौ तथा जन्मेकाहरू पनि कताबाट आएका थिए त्यो देखिसकेका छौ र सबैको जन्म भइरहेको पनि मेरो विश्वरुपमा देखिसकेका छौ ।’ त्यस्तै महाज्ञान छ यहाँका पूख्र्यौली यी कर्मवीर वासिन्दाहरूमा । त्यसैले हामीले आज धर्मको संकट परेको अवस्थामा धर्मस्थापना गर्नका लागि धर्मयुद्ध गर्नका लागि सबैभन्दा उत्तम थलो यो कुरुक्षेत्र नै रोज्नु पर्दछ त्यसैले यो थलोलाई रोज्दा हामीलाई अत्याचारी विरुद्ध गरेको हत्याको कुनै दोष लाग्दैन र यो महान स्थानको धर्म पनि कायम हुन्छ ।”
यसरी कृष्णजीले सम्झाउनु भइसकेपछि महाभारतको धर्मयुद्ध गर्नका लागि पहिलेदेखि नै कुरुक्षेत्र नाम भएको क्षेत्र जुन महाभारतको युद्ध हुनु अगाडि नै कुरुक्षेत्र थियो त्यस महान कर्मभूमिलाई रोजिने तय गरिए ।
नोट :– साना बेला मलाई फकाई फकाई कथा सुनाइरहनुहुने हजूरबुबा पं. धरणीधर शर्माज्यू मार्फत मैले सुनेका यी कुराहरू आज एकाएक सम्झन पुगेँ र यहाँहरू माझ बाँडे ।
No comments:
Post a Comment