Breaking News
Loading...

Tuesday, 28 May 2013

एमाओवादी आक्रमण गगन थापामाथि

  रुकुम, जेष्ठ १२ -
कांग्रेसका युवानेता गगन थापा प्रमुख अतिथि भएको आमसभामा आइतबार एमाओवादीले आक्रमण गरेको छ । गराइला-६ स्थित बेलटापुमा भएको सभामा एमाओवादीका पूर्वलडाकु प्रवेश गर्न लाग्दा आक्रमण भएको हो । प्रतिकारमा एमाओवादीका दुई कार्यकर्ता घाइते हुन पुगेका छन् । आमसभामा एमाओवादीका पूर्वप्लाटुन कमान्डरसहित दर्जन पूर्वलडाकु कांग्रेसमा प्रवेश गरे । त्यतिनै बेला एमाओवादी जिल्ला सचिवालय सदस्य केदार बिष्टको नेतृत्वमा आएको एमाओवादी समूहले मञ्च तोडफोड गर्नुका साथै गेटसमेत ध्वस्त पारेको थियो । कार्यक्रममा दुई दर्जन बढी पूर्वलडाकु कांग्रेस प्रवेश गर्ने थाहा पाएपछि एमाओवादीले कार्यक्रम बिथोल्न अघिल्लो दिनदेखि नै प्रयास गरेको कांग्रेसका स्थानीय नेताहरूले बताएका छन् ।

आमसभामा थापाले सम्बोधन गर्दासम्म शान्त रहेको जनसभामा एमाओवादी लडाकु प्रवेश गर्न थालेपछि एकाएक आक्रमण सुरु भएको थियो । लडाकुलाई प्रवेश गराउँदै गर्दा वाईसीएल कार्यकर्ताले कार्यक्रमस्थलमा ढुंगा हानेका थिए । त्यसपछि केही छिन् दोहोरो हानाहान चलेको थियो । करिब पन्ध्र मिनेटपछि कार्यक्रम सुचारु भएको थियो । सभा बिथोल्न नसकेपछि एमाओवादीले वासस्थान जाने क्रममा युवा नेता थापा चढेको गाडीमा समेत ढुंगा प्रहार गरेका थिए । कार्यक्रम बिथोल्ने पूर्वजानकारी पाएको स्थानीय प्रहरी प्रशासनले घटना हुँदासमेत बेवास्ता गरेको बताए । 'आफ्नो जनाधार खस्कँदै गएपछि एमाओवादी अत्तालिएर प्रस्तुत हुन थालेको छ,' थापाले कार्यक्रमपछि कान्तिपुरसँग भने, 'प्रहरी प्रशासनले समेत निरीहता देखाउनु उदेक छ ।

No comments:

 
Toggle Footer